काठमाडौँ, २ भदौ । मूख्यसचिव एकनारायण अर्यालले देशको आर्थिक समृद्धि साझा एजेण्डा भएको बताउँदै यसप्रति सबै सरोकारवालाले गम्भीरता देखाउनुपर्नेमा जोड दिएका छन ।
नेपाल आर्थिक पत्रकार समाज सेजन र नेपाल उद्योग परिसङ्घ सीएनआईको सहकार्यमा आइतबार काठमाडौँमा आयोजित ‘सार्वजनिक–निजी संवाद कार्यक्रम’मा उनले विकास प्रक्रियामा देखिएका नीतिगत उल्झनलाई सहजीकरण गर्दै सरकार र निजी क्षेत्रको सहकार्यमार्फत समृद्धिको मार्ग अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
“आर्थिक विकासको ड्राइभर निजी क्षेत्र हो, सरकारले बाटो फुकाइदिने हो”, मूख्यसचिव अर्यालले भने, “नीतिगत सहजीकरणमा सरकार केन्द्रित छ । पुरानो ऐनलाई समय सापेक्ष संशोधन गर्नैपर्छ । समृद्धिका लागि ‘प्रोसेस ओरेन्टेड’ प्रणालीलाई निर्मूल गर्नुपर्छ ।”
उनले सार्वजनिक खरिद प्रक्रियाका कारण विकासे कार्यक्रम प्रभावकारी हुन नसकेको प्रष्ट पार्दै निजी क्षेत्र स्वस्थ प्रतिस्पर्धी बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयका सचिवहरूले बजेटको कार्यान्वयन, नीतिगत समस्या समाधान, पूर्वाधार, ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रको विकासका लागि आवश्यक कदमबारे आ–आफ्नो धारणा राखेका थिए ।
सोही अवसरमा सीएनआइका अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्वदेशी तथा विदेशी लगानी आकर्षण गरी बजेट कार्यान्वयन प्रभावकारी बनाउनुपर्ने बताए भने सेजनका महासचिव विश्वास रेग्मीले बजेट प्राथमिकता र कार्यान्वयनबारे प्रस्तुतीकरण दिएका थिए ।