बलेवा बागलुङ, २ भदौः बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली एलजी–पास मा प्रदेशकै उत्कृष्ट बनेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलले आर्थिक वर्ष २०८०÷८१ को मूल्याङ्कनमा बागलुङ नगरपालिकाले अब्बल स्थान हासिल गरेको जानकारी दिएका छन ।
उनका अनुसार सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र वन–वातावरण तथा विपद् व्यवस्थापनलगायत पाँच शीर्षकका दुई दर्जनभन्दा बढी सूचकमा गरिएको मूल्याङ्कनमा बागलुङले उच्चाङ्क प्राप्त गरेको हो । “तोकेको समयमा तोकेका काम पूरा गरेर प्रविष्टि नगरेसम्म नम्बर नपाइने भएकाले सबै शाखाले जिम्मेवारीपूर्वक काम गरेका छन्,” कँडेलले भने ।
मन्त्रालयले यसअघि प्रयोगमा रहेका लिजा, एफआरए र एलइडी प्रणालीलाई एकीकृत गरेर चालु वर्षदेखि स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली एलजी–पास नामाकरण गरेको छ । अभिमुखीकरण अभियानसमेत देशभरमै पहिलोपटक बागलुङ नगरपालिकाबाट थालिएको उनले जानकारी दिए ।
यस अवसरमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले देखिने पूर्वाधार निर्माण, सुशासन प्रवर्द्धन र सरसफाइमा अब्बल बनाउन लक्ष्य राखेको बताए । उपप्रमुख राजु खड्काले न्याय सम्पादन, पर्यटन प्रवर्द्धन र सामाजिक विकासका क्षेत्रमा नागरिकमैत्री कामलाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन ।