काठमाडौँ, ६ भदौः सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे तथा राष्ट्रियसभाको बैठक १२ः१५ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्नेछ ।
प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गर्न प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको छ । साथै, विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा मन्त्रीहरूले जवाफ दिनेछन् ।
यसैगरी, समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गर्नेछिन् भने कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन् । त्यस्तै, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास पहिलो संशोधन विधेयक, २०८२’ दफावार छलफलका लागि पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
राष्ट्रियसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित आएको ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१’ माथि छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१’ माथि विचार गर्न प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको छ ।