म्याग्दी, ६ भदौ । भारी वर्षाका कारण आएको पहिरोले मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक र म्याग्दीका तीन स्थानीय तहलाई जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएको छ ।
यी सडक खण्डहरू अवरुद्ध हुँदा यहाँको जनजीवन प्रभावित बनेको छ । सदरमुकाम बेनीबाट ग्रामीण क्षेत्रतर्फको यातायात सम्पर्क पूर्ण रूपमा टुटेको छ ।
बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रघुगङ्गा गाउँपालिकाको माझखर्क, अन्नपूर्ण गाउँपालिकाको सुकेबगर र महभिरमा पहिरो खसेको छ । यस्तै, बेनी नगरपालिका(४ र मङ्गला गाउँपालिका २ को सिमानामा पर्ने फापरखेतमा पहिरो जाँदा बेनी–दरबाङ सडक पनि अवरुद्ध बनेको हो ।
सडक खुलाउनका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ । बेनी–जोमसोम सडक खुलाउन सडक विभागको डोजर र बेनी–दरबाङ सडकका लागि पूर्वाधार विकास कार्यालयमार्फत काम भइरहेको छ ।