काठमाडौँ, ८ भदौः नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष संविधान दिवसलाई विशेष रूपमा मनाइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरिएको छ ।
२०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाइँदै आएको छ । यस वर्ष संविधानको १० वर्ष पुगेकाले उत्सवलाई अझ हर्षोल्लासपूर्ण र भव्य बनाउन नेपाल सरकारले तयारी गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले असोज २, ३ र ४ गते नेपालभित्र र विदेशस्थित नेपाली नियोगहरूमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । दीपावली, झाँकी प्रदर्शन, राष्ट्रिय गानसहितको सङ्गीत महोत्सव, संविधान विषयक संवाद–परिसंवाद, सन्देशमूलक नाटकलगायतका कार्यक्रम सञ्चालन हुनेछन् ।
समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, मुख्यसचिव, प्रधानसेनापति, सचिव, स्थानीय तहका प्रमुख–उपप्रमुख, सुरक्षा निकायका प्रमुखलगायत रहनेछन् भने गृह मन्त्रालयका सचिव सदस्यसचिव हुनेछन् । साथै विषयगत उपसमिति पनि गठन गरिएको छ ।
असोज ३ गते काठमाडौँको टुँडिखेलमा आमजनताको सहभागितामा मुख्य समारोह आयोजना हुनेछ भने प्रदेश र स्थानीय तहमा समेत विशेष कार्यक्रम हुनेछन् । रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक तथा निजी सञ्चारमाध्यममार्फत कार्यक्रम प्रसारण गरिने व्यवस्था मिलाइएको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान घोषणाको दशकलाई राष्ट्रियता, विकास, मौलिक हक, समावेशिता, महिला सशक्तीकरण, संस्कृति र लोककल्याणसँग जोडेर जनस्तरमा मनाउन आग्रह गरेका छन । उनले वडा र विद्यालय तहसम्म कार्यक्रम पुर्याएर जनतालाई संविधानको महत्त्वसँग नजिक ल्याउनुपर्नेमा जोड दिएका छन ।