भद्रपुर झापा, ९ भदौः चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो महिना साउनमा मेची भन्सार नाका काँकरभिट्टा हुँदै आयात–निर्यात दुवै घटेका छन् ।
भन्सार कार्यालयका अनुसार साउन महिनामा रु तीन अर्ब ६९ करोड ४० लाख बराबरको मालसामान आयात भएको छ । यो रकम गत आर्थिक वर्ष २०८१।८२ को सोही अवधिको तुलनामा रु १९ करोड दुई लाख कम हो । अघिल्लो वर्ष साउनमा रु तीन अर्ब ८८ करोड ४३ लाख बराबरको सामान आयात भएको थियो ।
त्यस्तै, निर्याततर्फ पनि घटावट भएको छ । चालु वर्षको साउन महिनामा रु एक अर्ब ५४ करोड २८ लाख बराबरको वस्तु विभिन्न मुलुकमा निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा भने रु एक अर्ब ८० करोड ८२ लाखको सामान निर्यात भएको थियो ।
यद्यपि, आयात–निर्यात घटे पनि राजस्व संकलन भने बढेको छ । भन्सार कार्यालयका अनुसार चालु वर्षको साउन महिनामा रु एक अर्ब २६ करोड ५० लाख राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा रु १५ करोड १८ लाखले बढी हो ।