काठमाडौँ, ८ भदौः चाडपर्वको अवसर पारेर राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि घर तथा सवारी कर्जामा विशेष सुविधा घोषणा गरेको छ । बैंकले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार घर कर्जामा अधिकतम पाँच करोड रुपैयाँसम्म ६.३० प्रतिशत ब्याजदरमा कर्जा लिन सकिने व्यवस्था गरिएको छ । सो कर्जाको अवधि २० वर्ष तोकिएको छ भने प्रशोधन शुल्क ०.२५ प्रतिशत हुनेछ ।
त्यसैगरी, सवारी कर्जामा विद्युतीय गाडी खरिदका लागि ६.१० प्रतिशत र इन्धन गाडी खरिदका लागि ६.८० प्रतिशत ब्याजदरमा अधिकतम एक करोड रुपैयाँसम्म कर्जा लिन सकिने बैंकले जनाएको छ । दुबै किसिमका सवारी कर्जाको अवधि सात वर्ष रहने र प्रशोधन शुल्क ०.५० प्रतिशत तोकिएको छ ।
उपकार्यकारी अधिकृत पवन रेग्मीका अनुसार देशका ३१० शाखामार्फत सेवा प्रवाह गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सेवालाई प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवातर्फ केन्द्रित गर्दै आएको छ ।