काठमाडौँ, ८ भदौँ — सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पानीको स्रोत संरक्षण, संवर्द्धन र सदुपयोगलाई अहिलेको सबैभन्दा गम्भीर र आवश्यक एजेण्डा भएको बताएका छन ।
नेपाल पानी सदुपयोग फाउण्डेशनले आज आयोजना गरेको ‘राष्ट्रिय स्रोत रक्षक–२०८२ तथा ८७औँ पानी सत्सङ्ग कार्यक्रम’मा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनले पानीको स्रोतमा परेको असर र त्यसले मानव जीवनमा निम्त्याउनसक्ने संकटबारे चिन्ता व्यक्त गरेका छन । उनले भने, “हिमाल गुम्दै छन्, कालापत्थर बन्दैछन्, पानी अभावको अवस्थामा हामीलाई गम्भीर चुनौती छ । त्यसैले संरक्षण र संवर्द्धन अपरिहार्य बनेको छ ।”
प्रधानन्यायाधीश राउतले पानीलाई केवल प्राकृतिक स्रोत मात्र नभई मानव सभ्यता, जीवन र समृद्धिको मूल आधारका रूपमा लिँदै यसको दीर्घकालीन संरक्षणमा जोड दिनुपर्नेमा जोड दिएका छन । उनका अनुसार उचित व्यवस्थापनमा ढिलाइ भए भविष्य अन्धकारमय बन्नसक्छ ।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा.ङमिन्द्र दाहालले भू–उपयोगको विकृति, प्रदूषण, असमान वितरण र सहरीकरणका कारण पानीका स्रोतहरू जोखिममा परेको बताउँदै संरक्षणलाई सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गरे ।
जलस्रोत, वातावरण र जलवायु क्षेत्रमा सक्रिय संघसंस्था, विज्ञ र अभियन्ताहरूले समेत स्थानीय तहको सक्रियता, प्रविधिको प्रयोग, नीतिगत पहल र जनचेतनाको आवश्यकता औँल्याए ।
सो अवसरमा पानीलगायत प्राकृतिक स्रोत संरक्षणमा विशेष योगदान दिएको भन्दै पूर्वजलस्रोत सचिव भुवनेशकुमार प्रधानलाई ‘राष्ट्रिय स्रोतरक्षक सम्मान’ प्रदान गरिएको थियो ।