पर्सा, ९ भदौ । वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमै हैजाको सङ्क्रमण फैलिएको पुष्टि भएको छ । तर, सङ्क्रमणको मुख्य स्रोत भने अहिलेसम्म पत्ता लागेको छैन ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार सोमबार बिहानसम्म वीरगञ्जमा हैजाका ७९ जना सङ्क्रमित फेला परिसकेका छन् । “आइतबार बेलुका ८ बजे सम्म ७१ जना भेटिएका थिए भने सोमबार बिहान थप ८ जना नयाँ बिरामी भेटिएका छन्,” उनले बताएका छन ।
हालसम्म १०३ जना बिरामी विभिन्न अस्पतालमा भर्ना भई उपचाररत छन् । विश्व स्वास्थ्य सङ्गठन लगायतका टोलीले वीरगञ्जका पानीको नमुना परीक्षण सुरु गरेको र सम्भवतः आजै प्रारम्भिक प्रतिवेदन आउने अपेक्षा गरिएको ठाकुरले जानकारी दिएका छन ।
नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा मात्र ३० जना बिरामी उपचाररत छन् । “श्यया र जनशक्ति दुवै अभावमा छन् । अन्य निकायले कागजी सहयोग बाहेक वास्तविक सहयोग अझै पठाएको छैन,” उनले भने ।
उनका अनुसार हैजासँगै सर्पदंश, ज्वरो, प्यारालाइसिस लगायतका रोगका बिरामीको चाप अत्यधिक बढेको छ । “भएका जनशक्तिले अत्यधिक काम गर्नुपरेको छ तर आन्तरिक र बाह्य सहयोग नहुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ,” सिंहले थपे ।
नारायणी अस्पतालमा जाँच गर्दा २६ जना, तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा ९ जना, भवानी अस्पतालमा ३ जना तथा वीरगञ्ज हेल्थ केयर, अली अर्थो अस्पताल र मङ्गलम प्याथोलोजीमा २–२ जनामा कलेरा सङ्क्रमण पुष्टि भएको छ । सोमबार विहान थप ८ बिरामीमा सङ्क्रमण पुष्टि भए पनि कुन अस्पतालमा परीक्षण गरिएको भन्ने विवरण अझै सार्वजनिक भएको छैन ।