काठमाडौं, ९ भदौ २०८२ । विगतमा विभिन्न धारमा विभाजित पूर्व(माओवादी शक्तिहरूबीचको एकता प्रक्रियाले आज ठोस गति लिएको छ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टी नेकपा का महासचिव नेत्रविक्रम चन्द विप्लव बीच आज बिहान महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । पार्टी एकताको औपचारिक निर्णय र सन्देश लिएर अध्यक्ष प्रचण्ड आफैं महासचिव विप्लवलाई भेट्न ललितपुरको हरिसिद्धिस्थित उनको निवासमा पुगेका थिए ।
आज बिहान भएको भेटमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको स्थायी कमिटीले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने भनी गरेको औपचारिक निर्णयबारे जानकारी गराएका थिए । उनले विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै समाजवादी लक्ष्यतर्फ अघि बढ्न ढिलाइ गर्न नहुनेमा जोड दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
हाम्रो पार्टीले एकताका लागि औपचारिक निर्णय गरिसकेको छ । यसलाई निर्णायक निष्कर्षमा पुर्याउन तपाईंको पार्टीबाट पनि सकारात्मक निर्णय हुनेमा हामी विश्वस्त छौं, प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्रोतले बतायो ।
प्रचण्डको प्रस्तावमा महासचिव विप्लवले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले पार्टी एकताको विषयमा आफू र आफ्नो पार्टी सकारात्मक रहेको उल्लेख गर्दै यसबारे संस्थागत निर्णय लिन छिट्टै केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिए । विप्लवका अनुसार, आउँदो भदौ २२ गते बस्ने नेकपाको केन्द्रीय समिति बैठकले एकता प्रक्रियालाई अघि बढाउने सम्बन्धमा ठोस र औपचारिक निर्णय गर्नेछ ।
विगतमा पटक पटक एकताको प्रयास भए पनि निष्कर्षमा पुग्न नसकेको सन्दर्भमा आजको भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ । माओवादी केन्द्रले गत साउन १९ गते नै स्थायी कमिटी बैठकबाट विप्लवसँग एकता प्रक्रिया अघि बढाउन वार्ता समिति गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई मूर्त रूप दिन प्रचण्ड आज विप्लव निवास पुगेका हुन् ।
भेटमा पार्टी एकताका साथै पछिल्लो राजनीतिक परिस्थिति र चार दलीय समाजवादी मोर्चालाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो । हाल समाजवादी मोर्चाको संयोजक विप्लव नै छन् । दुई नेताबीचको यो संवादले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने र बृहत् वामपन्थी एकताको आधार तयार पार्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्लेषण गरिएको छ ।