काठमाडौँ, ९ भदौः राजधानी उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको इन्द्रजात्रा नजिकिँदै गर्दा वसन्तपुर दरबार क्षेत्रमा तयारी जोर–सोरले भइरहेको छ । गद्धि बैठक वरिपरि रङरोगन र सरसफाइदेखि कुमारी घर र अन्य मठमन्दिरसम्म सजावटको काम तीव्र गतिमा अघि बढाइएको छ ।
हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानका अनुसार रङरोगनसँगै झल्लर राख्ने, बत्ती व्यवस्थापन, बाटो बनाउने, स्वयंसेवक जुटाउने र आर्थिक स्रोत व्यवस्थापनलगायत कार्य भइरहेको छ । यसले उपत्यकाको सांस्कृतिक सौन्दर्य मात्र नभई सामाजिक उत्साहमा समेत नयां ऊर्जा थप्ने विश्वास गरिएको छ ।
इन्द्रजात्राको पहिलो दिन लाखे, दशावतार, भैरव, आकाश भैरव, देवी, महाकालीलगायत नाच प्रदर्शन गर्ने परम्परा छ, जुन क्रम जात्राभर निरन्तर रहनेछ । तेस्रो र चौथो दिन कुमारी, गणेश र भैरवको रथयात्रा वसन्तपुर, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, मरुटोल, नरदेवी, टङ्गाल, असन, इन्द्रचोक हुँदै हनुमानढोकासम्म सञ्चालन हुनेछ ।
करिब ३०० वर्षअघि मल्लराजा जयप्रकाश मल्लको पालामा सुरु गरिएको यो जात्रा स्वर्गलोकका राजा इन्द्र आफ्नी आमाका लागि पारिजातको फूल लिन पृथ्वीमा अवतरण गरेको धार्मिक मान्यतासँग जोडिएको छ । जात्रामा कालो बोकोलाई नालास्थित जङ्गलमा छाडेर छोडेको रूखबाट लिङ्गो योंसी काटी वसन्तपुरमा ठड्याउने परम्परा आजसम्म जगेर्ना गरिएको छ ।
भाद्र शुक्लपक्ष द्वादशीका दिन इन्द्रध्वजोत्थानसँगै सुरु हुने यो जात्रा चौथीका दिन इन्द्रध्वज पतनसँगै सम्पन्न हुन्छ । राजधानीको सामाजिक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यो जात्राले उपत्यकालाई बेग्लै रौनकमा रंग्याउने अपेक्षा गरिएको छ ।