काठमाडौँ, १० भदौः हरितालिका तीजको अवसरमा आज बिहानैदेखि आराध्यदेव श्रीपशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको ठूलो भीड लागेको छ । महिलाहरू उपवास गर्दै भगवान् शिव–पार्वतीको आराधनामा सहभागी भइरहेका छन् भने पुरुष भक्तजन पनि विशेष पूजाअर्चनाका लागि बिहानैदेखि दर्शनार्थ लामबद्ध भएका छन् ।
पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीलाई सहज र सुरक्षित रुपमा दर्शन गर्न विशेष व्यवस्था मिलाएको छ । कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीका अनुसार पशुपतिनाथ मन्दिरका चारवटै ढोका आज बिहान ३ः०० बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको हो । भक्तजनको भीडलाई व्यवस्थित गर्न करिब तीन हजार सुरक्षाकर्मी खटाइएको जानकारी दिइएको छ ।
केही भक्तजन त बिहान ३ः०० बजैअघि नै पशुपति क्षेत्र पुगेर लाममा बसेका थिए । अहिले दर्शनार्थीले करिब १५ देखि २० मिनेटमै दर्शन गरेर फर्कन पाउने अवस्था रहेको कोषले जनाएको छ । दर्शन सहज बनाउन बाहिरी परिक्रमा क्षेत्रमा लाम व्यवस्थापन गरिएको छ भने श्रीयन्त्र पूजाको समयमा जालीमार्फत बाहिरबाटै दर्शन गर्ने सुविधा पनि गरिएको छ ।
कोषकी सूचना अधिकारी अनिता भट्टका अनुसार मूल मन्दिरभित्र प्रवेश गरेका भक्तजनलाई मूल मूर्तिअघि पुगेपछि दर्शन गरी सहजै बाहिरिने व्यवस्था गरिएको छ । मन्दिर परिसरमा धार्मिक वातावरणमा भक्तजनको उपस्थितिले पशुपति क्षेत्र पूर्णरूपमा तीजमय बनेको छ ।
देशभरका शिवालयहरूमा पनि यस्तै दृश्य देखिएको छ । भक्तजन बिहानैदेखि उपवाससहित पूजाअर्चना गर्न मन्दिर पुगेका छन् । हरितालिका तीज विशेषगरी महिलाहरूले व्रत बसी भगवान् शिव–पार्वतीको आराधना गर्ने पर्वका रूपमा मनाउने परम्परा रहेको छ ।