फुङ्लिङ ताप्लेजुङ, १० भदौ मिक्वाखोला गाउँपालिका–५ यासा लोदेन मा अवस्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्लो समय पर्यटकहरूको आकर्षण बढ्दै गएको छ । समुद्र सतहबाट ४ हजार ४०० मिटर उचाइमा रहेको यो पोखरीको विशेषता भनेको मौसमअनुसार रङ्ग परिवर्तन हुनु हो । कहिले आकाशजस्तै नीलो त कहिले रातो हुने भएकाले यसको दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने गरेका छन् ।
स्थानीय पान्दे शेर्पाका अनुसार यो क्षेत्रलाई पर्यटकहरूले ‘पूर्वको मुस्ताङ’ उपमा दिने गरेका छन् । सेवा सुविधा कम भए पनि पछिल्लो समय यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि भएको उनले बताए ।
थोक्प्या समुदायको स्थानीय भाषाअनुसार ‘छ्यो’ भन्ने शब्दको अर्थ पोखरी र ‘थाङ्गी’ को अर्थ टार हो । त्यसैले ‘छ्यो थाङ्गी छ्यो पोखरी’ को शाब्दिक अर्थ पोखरी भएको टार हुन्छ । तर पछिल्लो समय मौलिक नामभन्दा अन्य नामले प्रचार हुने क्रम बढेको भन्दै स्थानीयहरूले मौलिक नाममै प्रचार–प्रसार गर्नुपर्ने माग गरेका छन् ।
फुङ्लिङबाट सिम्बुकसम्म यातायातको साधन प्रयोग गरेर पुग्न सकिन्छ भने त्यहाँबाट पदमार्ग प्रयोग गरी छिटो हिँड्नेले एक दिन र सामान्य गतिले दुई दिनमा लोदेन क्षेत्र पुग्न सकिन्छ । लोदेन हुँदै तोक्पेगोला जान सकिने भए पनि बाटो कठिन, चिप्लो र लेक लाग्ने सम्भावना हुने भएकाले स्थानीयको सहयोग आवश्यक पर्ने व्यवसायी मिलन लिम्बूले बताए ।
मिक्वाखोला–५ का वडाध्यक्ष ग्यान्जे शेर्पाका अनुसार लोदेन क्षेत्रमा करिब एक सय पोखरी छन् । तर ती पोखरीको वैज्ञानिक अध्ययन अझै नभएको र यस वर्षदेखि पोखरीको गहिराइ, लम्बाइ, चौडाइ र जीपीएस मापन गर्ने योजना रहेको उनले जानकारी दिए ।
यता मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु शेर्पाले हालसम्म संरक्षणमा ठूला पहल नभए पनि पोखरी प्राकृतिक रूपमा संरक्षित रहेको बताए । उनले पदमार्ग निर्माण, पाटीपौवा र होमस्टे सञ्चालनमार्फत पर्यटकलाई सहज वातावरण बनाउन थालिएको जानकारी दिए । साथै, लोदेन क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि यस वर्ष भिडियो सम्मेलन समेत गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।