भोजपुर, १० भदौ – टेम्केमैयुङ गाउँपालिकामा करिब रु तीन करोड २१ लाखको लागतमा अत्याधुनिक कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण सम्पन्न भएको छ । आर्थिक करिडोर पाख्रीबासमार्फत बनेको उक्त भवन आधुनिक प्रयोगशाला, उपकरण र सुविधासहित सञ्चालनमा आएको छ ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले सुविधा सम्पन्न भवनले सेवा प्रवाहसँगै अनुसन्धान र रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन । उनले भने, “यसले सेवा प्रवाह मात्र होइन, अनुसन्धान र रोग नियन्त्रणमासमेत महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।”
गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार भवन निर्माणले कृषि र पशु क्षेत्रको विकासमा ठूलो टेवा पुग्नेछ । उनले भने, “आधुनिक उपकरणसहितको भवनले यहाँको कृषि–पशुपालन क्षेत्रमा देखिने रोगको खोजी तथा अनुसन्धान गरेर उपचारमा पद्धति लैजान सहज हुने भएको छ ।”
प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले भवनभित्र कृषि र पशु छुट्टाछुट्टै प्रयोगशाला रहेका कारण रोग र कीराको पहिचान गर्न सजिलो भएको जानकारी दिएका छन । उनले थपे, “भविष्यमा कुनै महामारी देखिए यहीँ परीक्षण गरेर तत्काल कदम चाल्न सकिने अवस्था बनेको छ ।”
यस्तै, वडा नं. ३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले भवन निर्माणसँगै गाउँपालिकाका नागरिकलाई सेवा प्रवाहमा सहजता भएको बताएका छन ।
आर्थिक करिडोर कार्यालय पाख्रीबासका प्रमुख डा. इन्द्रनारायण शाहले भवन अपाङ्गमैत्री रहेकाले किसानलाई कृषि तथा पशु रोग अनुसन्धान, उपचार र उत्पादन वृद्धिमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा राखिएको जानकारी दिएका छन ।