नेपालगञ्ज बाँके, १० भदौः भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क डायलाइसिस सेवा पाउने भएका छन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत भेरी अस्पताललाई सूचीकृत गरेसँगै ती बिरामीले डायलाइसिस सेवा निःशुल्क पाउने भएका हुन् ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीका अनुसार हेपाटाइटिस बी र एचआइभी सङ्क्रमितलाई सेरोपोजेटिभ बिरामीका रूपमा परिभाषित गरिएको छ । उनका अनुसार बिरामीले वार्षिक तीन लाख रुपैयाँ बराबरको निःशुल्क डायलाइसिस सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ ।
यसअघि ज्येष्ठ नागरिक, सिकलसेल तथा थालेसिमिया पीडित, सामान्य डायलाइसिस, स्पाइन इन्जुरी, हेड इन्जुरी र मुटुका बिरामीले विपन्न नागरिक औषधोपचार कार्यक्रममार्फत सेवा लिँदै आएका थिए । नयाँ सेवा सुरु भएपछि लामो समयदेखि डायलाइसिसको खर्च थेग्न नसकेर उपचारमा समस्या भोग्दै आएका बिरामीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
अस्पताललाई निकट भविष्यमै मिर्गौला प्रत्यारोपण र पेरिटोनियल डायलाइसिसका लागि पनि सूचीकृत गर्ने अन्तिम तयारी भइरहेको डा. सुवेदीले जानकारी दिए । सूचीकृत भएमा मिर्गौला प्रत्यारोपण गराउन चाहने बिरामीले भेरी अस्पतालमार्फत सात लाख रुपैयाँसम्मको उपचार खर्च पाउनेछन् । सरकारको व्यवस्था अनुसार प्रत्यारोपण खर्चबापत चार लाख र औषधि खर्चका लागि दुई लाख रुपैयाँ उपलब्ध हुने व्यवस्था छ ।