वीरगञ्ज पर्सा, १० भदौः वीरगञ्जमा हैजाको आशङ्कामा सङ्कलन गरिएका १० वटा नमूनामध्ये ८ वटामा हैजा संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्टका अनुसार वीरगञ्जका विभिन्न अस्पतालले हैजाका लक्षण देखिएका बिरामीको दिसा परीक्षणका लागि पठाएका नमूनामध्ये ८ वटामा संक्रमण देखिएको हो ।
“वीरगञ्जबाट हैजाका लक्षण देखापरेका बिरामीको नमूना परीक्षण गर्न पठाइएको थियो । ‘भाइटेक’ प्रविधिबाट कल्चर गर्दा १० मध्ये ८ मा संक्रमण भेट्टिएको छ,” डा. भट्टले जानकारी दिएका छन ।
स्थानीय अस्पतालहरूले यसअघि नै ‘आरडिटी’ परीक्षणमार्फत हैजाको प्रारम्भिक पुष्टि गरिसके पनि थप प्रामाणिकता जुटाउन नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
डा. भट्टका अनुसार हैजाको प्रारम्भिक परीक्षण कहिलेकाहीँ फरक आउन सक्ने भएकाले कल्चर प्रविधिबाट पुनः पुष्टि गरिएको हो ।
स्वास्थ्यकर्मीहरूले दूषित पानी र खानपानबाट फैलिने हैजा रोकथामका लागि सावधानी अपनाउन, उमालेर मात्र पानी पिउन, सफा खानपान गर्ने र लक्षण देखिएमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिएका छन् ।