मध्यविन्दु नवलपरासी, १० भदौ – देवचुली नगरपालिका–६ मा सामान बोक्ने अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । कीर्तिपुरबाट दलदलेतर्फ आउँदै गरेको लु १ स ९०९४ नम्बरको अटो टोक्रेखोला पुल नजिक सडकबाट तल खसेपछि दुर्घटना भएको हो ।
दुर्घटनामा भारत मोतिहारीका ३५ वर्षीय रिजुवान खातुनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी यादव ढकालले जानकारी दिएका छन । अटोमा चालक सहित १२ जना सवार थिए ।
घाइते हुने सबै भारतीय नागरिक रहेको प्रहरीको भनाइ छ । घाइतेमा सवना खातुन ३५, रजिया खातुन १८, मोहम्मद रजा ४२, मेहेक इस्तियाक १५, इस्तियाक आलम ४०, मौजमा इमाम १८, जोया इस्तियाक १२, निजामुदिन हुसेन ११, सावा खातुन १४, उमर रजा १२ र कुलसुम वान १६ रहेका छन् ।