बागलुङ, भदौ ११ । जैमिनि नगरपालिका–१ मा तीज प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न खेलकुद तथा सांस्कृतिक प्रतिस्पर्धा गराइएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जैमिनि नगरपालिकाका प्रमुख नरबहादुर पुनले महिलालाई तीज पर्वको शुभकामना व्यक्त गरे । सो अवसरमा वडा अध्यक्ष विष्णु आचार्य, वाणिज्य बैंककी प्रबन्धक शोभा आचार्य र बजार व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन पदम बहादुर श्रीसले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगिता अन्तर्गत भलिबलतर्फ मैत्रिपूर्ण खेल मा नगर खेलकुद विकास समितिले प्रथम र जनप्रतिनिधि टिमले दोस्रो स्थान हासिल गरे भने फुटबलतर्फ बैंकर्स टिम प्रथम र सहारा टाइगर दोस्रो भए ।
तीज गीत प्रतियोगिता मा श्री शान्ति मा.वि. प्रथम, मेलमिलाप दोस्रो, हिमालयन तृतीय र जैमिनि छोरी सान्त्वना स्थानमा रहे । त्यस्तै मेच घुमाई प्रतियोगितामा रमा हमाल प्रथम घोषित भइन् ।
कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष दिपेन राईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन लोकगायक डिल्लीराज पौडेलले गरेका थिए ।