काठमाडौँ, ११ भदौः नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई प्रहरीले पक्राउ गरेको छ । साइबर अपराधसम्बन्धी उजुरीका आधारमा जिल्ला अदालत काठमाडौँले बुधबार पक्राउ पुर्जी जारी गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
साइबर ब्युरो, भोटाहिटीमा महरविरुद्ध चरित्रहत्या र गाली–बेइज्जतीसम्बन्धी उजुरी परेको थियो । सो उजुरी हुलाकमार्फत दर्ता भएपछि अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । उजुरी दर्ता भएपछि अदालतले पक्राउ अनुमति पत्र दिएसँगै प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार महरालाई थप अनुसन्धानका लागि आजै जिल्ला अदालत काठमाडौँमा पेस गर्ने तयारी गरिएको छ । अदालतमा पेश गरेपछि म्याद थप गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ ।
महरामाथि परेको उजुरी संवेदनशील प्रकृतिको भएको र यसमा विस्तृत अनुसन्धान आवश्यक रहेको प्रहरीको भनाइ छ । साइबर अपराध बढ्दै गएसँगै हालका दिनमा यससम्बन्धी उजुरी द्रुतगतिमा बढिरहेका छन् ।
यसअघि पनि सार्वजनिक व्यक्तित्वविरुद्ध सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली–बेइज्जतीका उजुरीहरु दर्ता हुँदै आएका छन् । साइबर ब्युरोले यस्ता घटनालाई नियन्त्रणमा लिन कडाइका साथ अनुसन्धान गर्ने रणनीति अघि बढाएको छ ।