दमौली तनहुँ, ११ भदौः राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई तनहुँको दुलेगौडामा विशेष सम्मान गरिएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ वडा व्यवस्थापन समिति वडा नं. ४ ले तीजको अवसरमा आयोजना गरेको तीज गीत प्रतियोगिताको अवसरमा उनलाई नगद रु ५० हजारसहित सम्मान गरिएको हो ।
गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ र शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले दोसल्ला ओढाइ कप्तान भण्डारीलाई सम्मान गरेका छन । खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै समितिका अध्यक्ष कृष्ण विकले भण्डारीलाई सम्मान गरिएको जानकारी दिए ।
सो अवसरमा कप्तान भण्डारीले जुन क्षेत्रमा भए पनि कडा परिश्रम र संघर्ष गरे सफलता पाउने धारणा राखिन । गाउँमा मोजाको बल खेलेर सुरु गरेको आफ्नो यात्रा सम्झिँदै उनले भनिन, “म दाइहरुसँग फुटबल खेल्थेँ, जहिले पनि गाली खान्थेँ, पिटाइ खान्थेँ । तर त्यही संघर्षले मलाई आजको स्थानमा पुर्याएको हो ।”
त्यसैगरी, प्रदेशसभा सदस्य गुरुङले खेलकुदले हरेक नेपालीलाई एकआपसमा जोड्ने कार्य गर्ने भन्दै सावित्रा भण्डारीले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान दिएको उल्लेख गरेकी छिन ।